चुनाव प्रभावित पार्न अख्तियारको गोप्य पत्र सार्वजनिक

वैशाख १९, दैलेख
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जारी गरेका एकपत्र सार्वजनीक भएको छ । यहाँको दुल्लु नगरपालीकामा पर्ने एक विद्यालयमा भएको अनियमितता सम्बन्धी उजुरीबारे दुल्लु नगरपालिका सँग कागजात माग गरेर पठाएको पत्र कर्मचारीको मिलेमतोमा सार्वजनिक गरिएको हो । दुल्लु नगरपालिका वडा नं ६ मा रहेको महेन्द्र जयदेवी माविका विव्यस अध्यक्ष रुद्रबहादुर शाहीले विव्यस अध्यक्ष हुँदा अनियमितता गरेको भन्दै अख्तियारले वैशाख ४ गते कागजात माग गर्दै पत्र पठाएको थियो । दुल्लु नगरपालिकामा एमालेबाट प्रमुखका उम्मेदवार शाहीविरुद्ध परेको उजुरीको बारेमा अख्तियार सुर्खेतले आवश्यक जाँचबुझ गर्न भन्दै नगरपालिकालाई कागजात पठाउन इमेलमार्फत लिखित पत्र पठाएको थियो । तर त्यो पत्र सार्वजनिक गरिएपछि निर्वाचन आचारसंहितासमेत उल्लंघन भएको भन्दै स्थानीय आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
भाषामै अनियमितता गरेको पुष्टि
अख्तियारले पठाएको पत्रमा ‘दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नं ६ स्थित महेन्द्र जयदेवी माविका विव्यस अध्यक्ष रुद्रबहादुर शाहीले विभिन्न आर्थिक वर्षहरुमा विभिन्न शीर्षकको रकममा अनियमितता गरेको हुनाले’ भन्ने उल्लेख छ । अख्तियारले अनियमितता पुष्टि नहुँदै अनियमितता गरेको भन्ने पुष्टिसमेत गरेको छ । पत्रमा शाखा अधिकृत अनन्तकुमार गौतमले हस्ताक्षर गरेका छन् । ‘अख्तियारमा विभिन्न व्यक्तिका बारेमा उजुरी पर्ने गरेका छन् । उनीहरुको उजुरीका बारेमा पत्र पठाउने प्रचलन पुरानै हो । त्यो पत्र गोप्य रहन्छ । त्यो पत्र सार्वजनिक गर्न हुन्थेन’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक शाखा अधिकृतले भने, ‘त्यो गलत हो । पुष्टि भएपछि मात्रै त्यस्तो गर्न मिल्छ । नभए यो त सरासर गलत भएको हो ।’
चुनाव प्रभावित पार्ने दुस्प्रयास
उजुरी परेको पत्र सार्वजनिक भएपछि तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष रहेका शाहीले भने आपत्ति जनाएका छन् । ‘त्यो विद्यालयको कुनै चेकमा मेरो हस्ताक्षर हुँदैन । मैले विव्यसको अध्यक्षको हैसियतमा माइन्युटमा हस्ताक्षर गर्ने काममात्रै हो । यो अरु केही होइन चुनाव प्रभावित पार्न खोज्ने दुस्प्रयासमात्रै हो’, उनी भन्छन्, ‘नगरपालिकाका कर्मचारी र मेरो पक्षमा जनताको लहर देखेर डराएकाहरुको मिलेमतोमा चैत ३० गते मैले टिकट पाइसके पछि अख्तियारमा उजुरी हालेर बदनाम गर्न खोजिएको मात्रै हो । यसबारेमा म नेताहरुसँग सल्लाहमा छु । मैले के गर्नुपर्छ कानूनी उपचार खोज्न पर्ला ।’
इमेलको दुरुपयोग भयोः नेपाल
दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालले पत्र सार्वजनिक भएको बारे आफुलाई जानकारी नभएको बताएका छन् । ‘हाम्रो नगरपालिकाको इमेल शाखाका कर्मचारीदेखि मेयर सावसम्मले चलाउनुहुन्थ्यो । कसले त्यो गोप्य पत्र सार्वजनिक गरेको हो, अनुसन्धानका लागि साइवर क्राइममा मुद्धा हालेको छौँ’, नेपालले भने । प्रमुख प्रशासकीय अधिकृत नेपालका अनुसार नगरपालीकाको ईमेल २८ वटा डिवाइसमा खुलेको भटिएको र कसले उत्त पत्र सार्वजनीक ग¥यो कारवाहीका लागि साइवरक्राइममा बुद्धा हालीएको बताए । उनले कसैको स्वार्थपूर्तिका लागि इमेलमा आउँने यस्ता गोप्य पत्र सार्वजनिक गर्न नपाइने बताए । उनले अब इमेल प्रयोगमा ध्यान दिइने बताए । ‘कार्यालयबाट यो गम्भीर गल्ती भएको हो । यस्तो गल्ती गर्नेलाई कारबाही गरिन्छ’, उनले भने, ‘सबैलाई इमेल चलाउन दिनु गल्ती भयो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार